विराटचोकः शाखा सञ्जाल विस्तारमा आक्रामक रूपमा अघि बढेको एनआईसी एशिया बैंक पछिल्लो समय भने रणनीतिक मोडमा देखिएको छ । बैंकले देशका विभिन्न महानगर तथा शहरी क्षेत्रमा रहेका आफ्ना ४४ वटा शाखा मर्ज गरेको हो ।
मोरङको विराटनगरमा रहेका तीन वटा शाखा नजिकका शाखामा गाभिएका छन् । बैंकका अनुसार विराटनगरका मेन रोड र हाटखोला शाखा विराटनगर शाखामा गाभिएका छन् । त्यस्तै रानी मिल्स एरिया शाखा रोडशेष चोक शाखामा गाभिएको छ ।
बैंकको सूचनाअनुसार, काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लाका शाखाहरू मर्ज गरिएका छन् ।
काठमाडौं उपत्यकाका नागपोखरी, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, चाबहिल, नयाँबजार, कपन, टेकु, सिनामंगल लगायतका शाखाहरू नजिकका मुख्य शाखामा गाभिएका छन् ।
बैंकले शाखा समायोजन प्रक्रियामा कुनै पनि कर्मचारीको रोजगारी नखोसिएको र ती शाखाका कर्मचारीलाई अन्य शाखा वा विभागमा व्यवस्थापन गरिएको बताएको छ ।
गत बैशाख ३ गतेदेखि लागू हुनेगरी शाखा मर्ज गर्नुको कारण सञ्चालन खर्च घटाउने, डिजिटल बैंकिङको तीव्र विस्तार, ओभरल्याप भएका शाखाहरू हटाउने, नाफा सुधार गर्ने रणनीति, नेपाल राष्ट्र बैंकको नीतिगत लचिलोपन, संशाधनको पुनः वितरण, प्रतिस्पर्धात्मक दबाब, जोखिम व्यवस्थापन सुधार, दीर्घकालीन रणनीतिक रूपान्तरण मुख्य रहेको जनाएको छ ।
राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यकताका आधारमा विशेषगरी महानगर क्षेत्रका शाखाहरू मर्ज गर्न सक्ने सुविधा दिएपछि एनआईसी एशिया बैंकले सोही नीतिगत व्यवस्थामा टेकेर ठूलो सङ्ख्यामा शाखा समायोजन गरेको हो ।



