Friday, April 17, 2026

आमा

आचार्य अ.

आमा ! कुनै छैन तिमीसमान
तिम्रै प्रभाले छ जगत् ललाम ।
आमाबिना जीवन आउँदैन
तसर्थ आमासँग जुध्नु हुन्न ।।

सम्झेर आमा जति कर्म हुन्छन्
ती कर्ममा निश्छलभाव रम्छन् ।
आमासँगै शान्ति रहन्छ नित्य
छ भित्र गम्भीर यहाँ रहस्य ।।

जो राख्छ आमाप्रति द्वेषभाव
त्यो मूढले पार्दछ के प्रभाव ?
आमा हँसाए सब बन्छ काम
आमा रुवाए रहँदैन नाम ।।

आमा भए साहस भित्र बस्छ
जस्तै विपतमा पनि लड्न सक्छ ।
परन्तु आमा नभए धरामा
रहन्छ के आखिर यो थलामा !!

म मात्र आमासँग बोल्न सक्छु
खुलेर भित्री दिल खोल्न सक्छु ।
म दूधको शोणित रूप देख्न
चाहन्नँ चाहन्नँ म पाप लेख्न ।।

मेरो छ बिन्ती जननी खुसाऊ
जहाँ भए तापनि भित्र आऊ ।
गरेर तिम्रो अभिवन्दना यो
म पार्छु यो जीवन–गेह नौलो ।।

(मेरो यात्रा कविता सङ्ग्रहबाट)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments