ओखलढुङ्गाः युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा ओखलढुङ्गामा भएको कविता प्रतियोगितामा झापाको दमकका कवि विवेक दुलाल क्षेत्री पहिलो हुनुभएको छ । प्रतियोगिताका लागि देशभरबाट प्राप्त २०० भन्दा बढी कवितालाई पछि पार्दै क्षेत्रीको ‘उचाइको प्रयोगशालाबाट’ शीर्षकको कविता पहिलो भएको हो । क्षेत्रीले पुरस्कारस्वरुप १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण सङ्ग्रहालय समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट १० कविताहरु वाचनका लागि छनोट गरिएका थिए । तीमध्ये ८ कविहरु प्रतियोगितामा सहभागी भएका थिए ।
सो प्रतियोगितामा ‘ऐनामा हराएका फूलहरू’ शीर्षकको कविताका सर्जक झापाकै निकेश डाँगी ‘विक्षिप्त’ दोस्रो, तथा ‘घडी र चक्र’ शीर्षकको कविताका सर्जक काभ्रेपलाञ्चोकका प्रताप चौलागाई तेस्रो हुनुभएको छ । उहाँहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले युगकविले देखाएको क्रान्तिकारी मार्गको स्मरण गर्दै नगरपालिकाले साहित्यको उत्थानका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा ’सिद्धिचरणको काव्य चेतना र आजको युवा आवाज’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षक तथा समालोचक युवराज दाहालले एआईको युगमा पनि मानवीय संवेदना र सिद्धिचरणको विद्रोही चेत उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
कार्यक्रममा युगकविले साहित्यमा दिनुभएको योगदानको चर्चा गरिएको थियो । कविता उत्सवमा आमन्त्रित तथा अतिथि कविहरू चन्द्र गुरुङ, हेमन यात्री, सबिता फागोसहित दर्जनौँ स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो ।




