खेमचन्द्र अधिकारी
सुनकोशीः यस वर्षको पौषे औँसीमा देशभरका आर्य धिमालहरु सिन्धुलीको सुनकोशी गाउँपालिकाको झाँगाझोलीमा भेला भए । धिमाल (धिमली वा धमिलो) खोलाको आसपास बसोबास गर्ने धिमालहरुले पैतृक थलो छोड्दै गएपछि त्यहाँ रहेका धिमाल पाटी, धिमाल चौतारी, धिमाल पोखरीको अस्तित्व हराएपछि ऐतिहासिक सम्पदाको संरक्षणमा लाग्ने उद्घोष धिमाल बन्धुहरुले गरेका हुन् ।
उत्साहका साथ देशभरबाट झाँगाझोलीमा भेला भएका आर्य धिमाल बन्धुहरुको भेलामा प्रमुख अतिथि बनेकी सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले आर्य धिमालको उद्गमस्थल र घाट क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय सरकार तयार भएको बताइन् ।
‘राजनीतिभन्दा माथि उठेर प्रस्तावना ल्याउनुहोस्’, प्रमुख अतिथि बोहोराले भनिन्, ‘आर्य धिमाल बन्धुको पहिचानप्रतिको लालसालाई सम्मान गर्दै आर्य धिमालका खण्डहर भएका भौतिक संरचना वा ऐतिहासिक सम्पदा तथा धिमालघाटको व्यवस्थापन गर्न स्थानीय सरकार तयार छ ।’
आर्य धिमालको ऐतिहासिक सम्पदा धिमाल पाटीको नामोनिशान नरहेकोले त्यसको खोजी गर्नुपर्ने हुँदा स्थानीय सरकार पनि त्यसमा सहयोगी हुनुपर्ने आर्य धिमाल बन्धु समाज नेपालका अध्यक्ष हरिप्रसाद धिमालले बताए ।
‘हामीले आर्य धिमालको ऐतिहासिकता लोप हुँदै गएको पाएका छौँ’, सिन्धुलीमा देशभरका आर्य धिमाल भेला हुनुको कारणबारे प्रष्ट्याउँदै अध्यक्ष धिमालले भने, ‘धिमाल पाटी पञ्चायत कालसम्म अस्तित्वमा रहेको र सो पाटीको स्वामित्व तत्कालीन गाउँपञ्चायतले लिएको हामीले सुनेका छौँ । त्यसको स्वामित्व आर्य धिमाल बन्धु समाजको नाममा ल्याई त्यसलाई सुनकोशीको ऐतिहासिक धरोहरको रुपमा उभ्याउनुपर्ने देखिन्छ ।’
सो पैतृक थलोमा अब हरेक वर्ष देशभरका आर्य धिमाल बन्धु पौष कृष्ण औंसीमा तीर्थ श्राद्धका लागि आउने हुनाले पालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा त्यसलाई विकास गर्नुपर्नेमा कार्यक्रमका वक्ताले जोड दिए ।
‘धिमालघाटको उचित व्यवस्थापन हुन सके देशभरका धिमाल बन्धुले पनि अपनत्व ग्रहण गर्ने थिए । हरेक वर्ष यस थलोमा देशभरका आर्य धिमाल भेला गर्न समाज लाग्नेछ,’, अध्यक्ष धिमालले भने, ‘हामी श्राद्ध गर्न किन गया जाने ? त्यसको साटो हामी पैतृक भूमिमा वर्षमा कम्तीमा एक पटक आएर पितृहरुको स्मरण गर्छाँै । यसको लागि पालिकाले पनि गम्भीर भएर सोचेर अघि बढ्नुपर्ने देखिन्छ ।
आर्य धिमालको भेलामा अतिथिको आसनबाट बोल्ने गाउँपालिका उपप्रमुख कपिलकुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलगायतले आर्य धिमालको पैतृक थलोलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पालिका तयार हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आर्य धिमालहरुले धिमाल घाट (सुनकोशी नदीमा धिमाल खोला मिसिएको स्थान) मा सामुहिक श्राद्ध गर्दै हरेक वर्ष पौष कृष्ण औंसीमा सो स्थानमा श्राद्ध गर्न जाने उद्घोष गरेका थिए ।
देशभरका आर्य धिमालहरु पैतृक थलोमा भेला, गरे सामुहिक तीर्थश्राद्ध