गोरखाः राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सुधन गुरूङ गृहमन्त्री बनेका छन् । गोरखाका कतिपय गाउँमा आफूलाई भोट माग्ने क्रममा उनले जितेपछि आफू गृहमन्त्री बन्ने बताउने गरेका थिए ।
गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङ गाउँका उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो । उनका बुबा दिलबहादुर गुरूङ तत्कालीन माओवादीमा आबद्ध थिए भने समाज सेवामा समेत सक्रिय थिए ।
सुधनले ‘हामी नेपाल’ का संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गरेका थिए । २०७२ सालको भुइँचालोको बेला उनले राहत तथा उद्धार क्षेत्रमा काम गरेका थिए ।
भदौ २३ को जेनजी आन्दोलन क्रममा पनि सुधन सहभागी थिए । त्यसपछि उनको नाम चर्चामा आएको थियो । उनले त्यस बेला आफूले ‘पानी बाँड्ने, ब्यानरहरू बनाउने र एम्बुलेन्स व्यवस्थापन’ को काम गरेको बताएका थिए ।
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार नबनुन्जेलसम्म सुधनले समन्वयकारी भूमिका खेलेका थिए । प्रधानमन्त्री बनेपछि सुशीला कार्कीले सुधनलाई ‘जेठो छोरा’ समेत भनेकी थिइन् ।
सुधन २०४४ साल असार २५ गते जन्मिएका उनी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने बेलामा मात्रै रास्वपामा आबद्ध भएका थिए ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच संवाद गराउने भूमिकामा उनी पनि सक्रिय थिए । ललितपुरस्थित कुमार बेनको घरमा रवि र बालेनलाई छलफलमा राखेर गुरूङले ‘कुरा नमिल्दासम्म बाहिर निस्कन नदिन आफू सेन्ट्री’ बसेकोसमेत बताएका थिए ।
उज्यालो नेपाललाई रास्वपामा समाहित गराउने भूमिकामा पनि सुधनको सक्रिय भूमिका थियो ।





