खेमचन्द्र अधिकारी
भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखी नेपालमा २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भए । जेनजीको समर्थनमा नेपालमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारका लागि शपथ ग्रहण गर्नुभयो । नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गतेका लागि तोकियो । अन्तरिम सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरी झण्डै दुई तिहाइ सांसदको नेतृत्व गरेको रास्वपालाई राजकाज सञ्चालनको अभिभारा आज २०८२ चैत १३ गतेदेखि सुम्पिएको छ ।
संयोगले नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको दिन रामनवमी पर्व परेको छ । नयाँ प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा शपथ ग्रहण गर्नुभएको छ ।
सुशासन स्थापनाका लागि समर्पित र रामनवमीका दिन शपथ ग्रहण गरेको नयाँ सरकारले साँच्चै ‘रामराज्य’ स्थापना गर्न सक्ला त ? उसको लागि त्यसको अवसर भने छ । पुराना दललाई जनताले पत्याएनन् । फलस्वरूप पाँच वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिकको जनादेशसहित ठूलो दल बन्यो । जनताले पहिलेका राज्य सञ्चालकले झैँ मोज गर्न होइन देशमा सुशासन कायम गर्न नयाँ दललाई दुई तिहाइको भारीसहित सत्तामा पुर्याएका हुन् । जेनजी आन्दोलनको मर्म पनि देशमा सुशासन कायम होस्, भ्रष्टाचार अन्त्य होस् भन्ने थियो । जेनजीको आवाजलाई जनताले मतमार्फत् अनुमोदन गरी रास्वपालाई सत्ताको चाबी दिएका हुनाले उसले पुरानै ढर्रामा होइन नयाँ सोचका साथ निर्बाध रूपमा पाँच वर्ष सत्ता सञ्चालन गर्नेछ भन्ने विश्वास नागरिकमा छ ।
जेनजीले विलासी नेता र नेताका सन्तान तथा आफन्तको विलासी जीवनशैलैको विषयमा आवाज उठाएका थिए । सामाजिक सञ्जालको निर्बाध उपयोग गर्न पाउनुपर्ने र यसमा बन्देज लगाउन नहुने विषय उठाएका थिए । अहिलेसम्म कसैले पनि जेनजीका माग गलत थिए भन्न सकेका छैनन् र ती माग गलत पनि थिएनन् । नेताहरूको नातावादको, सत्तालिप्साको, अकर्मण्यताको र जिम्मेवारीप्रति उदासीनताको विषयमा केही वर्ष अघिदेखि प्रश्न उठिरहेको थियो । जेनजी आन्दोलनलाई समर्थन गर्दै नागरिकले मतमार्फत् त्यसमा लालमोहर लगाइदिए ।
हामीले ‘रामराज्य’ भन्ने सुनेका छौँ । अयोध्याका राजा दशरथका छोरा रामले सञ्चालन गरेको जस्तो राज्यलाई ‘रामराज्य’ भनिएको पाइन्छ । रामराज्य सुखी, सम्पन्न र समृद्ध राज्य हो । अहिले ‘रामराज्य’ सञ्चालन गर्न सम्भव होला या नहोला तर त्यस दिशातर्फ राज्य सञ्चालकको ध्यान जाओस् भन्ने जनअपेक्षा हो ।
यस्तो थियो ‘रामराज्य’
वाल्मीकि रामायणको युद्धकाण्डमा ‘रामराज्य’ को बारेमा उल्लेख छ ।
‘न पर्यदेवन् विधवा न च व्यालकृतं भयम् ।
न व्याधिजं भयं चासीद् रामे राज्यं प्रशासित ।।’
‘निर्दस्युरभवल्लोको नानर्थं कश्चिदस्पृशत् ।
न च स्म वृद्धा बालानां प्रेतकार्याणि कुर्वते ।।’
‘सर्वं मुदितमेवासीत् सर्वो धर्मपरोऽभवत् ।
राममेवानुपश्यन्तो नाभ्यहिंसन् परस्परम् ।।’
अर्थः रामको शासनकालमा विधवाहरूको विलाप कहिल्यै सुन्नुपरेन । सर्प आदि दुष्ट जीवहरूको पनि डर थिएन । रोगहरूको भय पनि थिएन ।
चोर र लुटेराहरूको नामसम्म पनि सुन्नु पर्दैनथ्यो । कुनै मानिस अनर्थकारी काममा लाग्दैनथे । वृद्ध मानिसहरूले बालकहरूको अन्त्येष्टिमा सहभागी हुनुपर्दैनथ्यो ।
मानिस सधैँ प्रसन्न रहन्थे । सबै धर्मपरायण थिए । सबैले राममाथि नै भरोसा गर्थे । कसैले कसैलाई दुःख दिँदैनथे ।
भानुभक्तीय रामायणमा रामराज्यको यसरी वर्णन गरिएको छ
राजा राम् भइबक्सनु जब भयो प्राणी प्रजा खुस भया ।
जो पथ्र्यो अघि ताप् अनेक तरहका ती सब् प्रजाका गया ।।
गर्दैनन् विधवा विलाप् मुलुकमा लाग्दैन रोग व्याध् पनि ।
सब् डाकू दबिया परेन कहिँ ताप् यो चिज् हरायो भनी ।।
बूढो बाँचि मरेन बालक कहीँ यस्तो मुलुकमा भयो ।
छोरा झैँ गरि पालि बक्सनुहुँदा सब् ताप् प्रजाको गयो ।।
गर्छन् राघवको भजन् जनहरू वर्षन्छ मेघ् कालमा ।
वर्णाश्रम् सब धर्म छन् दिन बित्या सबका सुखै चालमा ।।
पौराणिक कालको जस्तो रामराज्य अहिले सम्भव नहोला । समयअनुसार अहिलेको ‘रामराज्य’ भनेको सुदृढ लोकतन्त्र र समृद्ध जीवन हुन सक्छ । प्रतिव्यक्ति आयको गुणात्मक वृद्धि हुन सक्छ । सुशासनको स्थापना हुन सक्छ । र हुन सक्छ जनता समृद्धि हुने यस्तैयस्तै अन्य धेरै विषय ।
जेनजी आन्दोलनको मर्म, मतमार्फत् जनअनुमोदित नयाँ सरकार र सुशासनको पक्षमा सरकारको तत्परता मिल्यो भने कलियुगमा पनि ‘रामराज्य’ को अनुभूति हुन सक्छ । रामको जन्मदिन आज रामनवमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने बालेनले त्रेता युगमा रामको अवधारणामा सञ्चालन गरेजस्तो रामराज्य सञ्चालन गर्न सकून् । शुभकामना ।





