काठमाडौंः २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ ग्रहण गराएका हुन् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।
तीमध्ये ६३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।
उनीहरूलाई सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को अस्थायी रुपमा बनेको बहुउद्देश्यीय हलमा शपथ ग्रहण गराइएको हो । संघीय संसद् सचिवालयका अनुसार, अब संसद्का केही प्रारम्भिक बैठक पनि सोही हलमा बस्नेछ ।
नवनिर्मित प्रतिनिधिसभाको हल तयार नभएकाले सांसदहरूको शपथ र प्रारम्भिक केही बैठकका लागि अस्थायी हल निर्माण गरिएको हो ।





