विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार मोरङका सबै ६ क्षेत्रमा रास्वपाका उम्मेद्वार निर्वाचित भएका छन् ।
रास्वपाको जीतसँगै मोरङमा ४ जना डाक्टरको पराजय भएको छ । पराजित हुनेमा नेपाली कम्युनिष्ट पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेद्वार रहनुभएको डा. देउमान सम्बाहाम्फे हुनुहुन्छ । बाँकी ३ जना नेपाली कांग्रेसका उम्मेद्वार हुनुहुन्छ ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मीनेन्द्रप्रसाद रिजाल पराजित हुनुभएको हो । रास्वपाका कृष्णकुमार कार्कीले ४० हजार १२४ मत प्राप्त गर्दा रिजालले १२ हजार ६४४ मत मात्रै प्राप्त गर्नुभयो । १४ औँ महाधिवेशनमा कांग्रेसको महामन्त्रीका प्रत्यासी रहेका रिजाल गत निर्वाचनमा उम्मेदवार हुनुहुन्नथियो । सो क्षेत्रबाट एमालेका ऋषिकेश पोखरेलले जित्नुभएको थियो ।
क्षेत्र नम्बर ३ मा दुई जना डाक्टर पराजित हुनुभएको छ । रास्वपाका गणेश कार्कीले ३६ हजार ९२४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्माले २४ हजार ३५४ मत ल्याउनुभयो । अघिल्लो निर्वाचनमा शर्मा सो क्षेत्रबाट विजयी हुनुभएको थियो ।
क्षेत्र नम्बर ३ मा नै नेपाली कम्युनिष्ट पार्टीका डा. देउमान सम्बाहाम्फे पराजित हुनभयो । उहाँले १ हजा २५९ मत ल्याउनुभएको थियो ।
क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पराजित हुनुभयो । रास्वपाकी रुबिना आचार्यले ५५ हजार ५१३ मत ल्याएर विजयी हुँदा कोइरालाले १२ हजार २५० मत ल्याउनुभयो । अघिल्लो पटक सोही क्षेत्रमा निर्वाचित भएका कोइराला १४ औँ महाधिवेशनमा पार्टीको सभापति पदका उम्मेद्वार हुनुहुन्थ्यो ।
अघिल्लो निर्वाचनमा मोरङमा कांग्रसले ४ सिट जित्दा एमालेले एउटा र नेकपा माओवादी केन्द्रले एउटा निर्वाचन क्षेत्रमा जीत दर्ता गरेका थिए । यस पटक सबै क्षेत्रमा रास्वपाका उम्मेद्वार विजयी भएका हुन् ।




