- सिजन श्रेष्ठ
वि.सं. १७७९ देखि १८३१ सम्म
स्वर्गमै थिएँ म ।
५२ वर्षको अथक र अविरल यात्रापछि
देवीघाट माथिको आकाशे बाटो हुँदै
प्राणभन्दा पनि प्यारो त्यो स्वर्ग छाडेर
फेरि यो अर्को स्वर्गमा आएको थिएँ म ।
हे ! माता चन्द्रप्रभावती
हे ! माता कौशल्यावती
मेरो शीरमा नपरेको भए
तिम्रो न्यानो र कोमल हत्केला
सम्भवै थिएन– मेरो एक्लो यात्रा
झन् कसरी सम्भव हुन्थ्यो–
विशाल भूगोल रच्ने कल्पना ?
झन् कसरी सम्भव हुन्थ्यो–
रच्नलाई पृथ्वीको सिङ्गो सपना ?
हे ! धर्तीमाता
अहिले पनि
मेरो शीरमाथि नहल्लिकन बसेको छ
गुरु गोरखनाथले दिनुभएको
आशीर्वादको चरो
त्यही चरोलाई साक्षी राखेर
मैले जोगाउनु थियो
टुक्रिँदै गएको हिमवत्खण्ड
जोगाउनु थियो– हिमालयको स्वतन्त्र अस्तित्व
हे ! केवलपुरकी थपिनी आमा
तिमीले दियौ
मैले जीवनभर जानेर नसिद्धिने
दिव्यज्ञान !
तिमीले दियौ–
मैले जीवनभर तपस्या गरेर पनि
प्राप्त गर्न नसक्ने
विराट आत्मा !
यति सजिलै
म कसरी भुल्न सक्छु
तिम्रो सकल प्रतिबिम्ब ?
हे ! बिसे नगर्ची
मेरा टुक्रा टुक्रा सपनाहरूलाई सिलाएर
तिमीले सँगसँगै बनाइदियौ–
सपनाहरूको फराकिलो आकाश र धरती
अहिलेसम्म पनि मेरो कानमा गुन्जिन्छ–
तिमीले बजाएको नगरा, सहनाई
तिमीले बजाएको युद्ध र उत्सवको धून
बडो सीपपूर्वक तिमीले चलाएको सियोधागो
मेरो खल्तीमै छ अहिले पनि–
तिमीले दिएको सल्लाहको रुमाल ।
म कसरी भुल्न सक्छु ?
राज्यलाई मन्दिर ठानेर तिमीले चढाएका
मूल्यवान् द्रव्यहरूको योगदान ।
हे ! दलमर्दन,
मेरो भाइ,
यति सजिलै म कसरी भुल्न सक्छु ?
– चेपे नदीको किनार
– गोरखा दरबार
– नुवाकोट, कीर्तिपुर
– कान्तिपुर र पाटनका फाँटहरू
– मकवानपुर
– दू…..र पूर्वको विजयपुर
– तुर्की घोडाको गतिमा लड्ने
मेरा बहादुर खस योद्धाहरू
– पाँडेको ढाल
– बस्नेतको तरबार
– त्यो वसन्तपुरको फराकिलो पटाङ्गिनी र सुन्दरीचोक ।
हे ! इन्द्रकुमारी,
मेरै निम्ति तिमीले
आधा प्राण दिएर/आधा प्राण लिएर
बितायौ सारा जिन्दगानी
बिना कुनै स्पर्श तिमीले दिएको अगाध प्रेम बिना
कसरी रच्न सक्थ्यो
मेरा साना पैतालाले
काव्यभन्दा नि अतीव सौम्य र सुन्दर यो मुलुक !
हे ! कालु पाँडे
हे ! वंशराज
तिमीहरूको अमूल्य रगत र पसिनाले सिँचेर
मैले बडो दु:खले आर्ज्याको यो मुलुक
सार्वभौम जनतालाई यत्तिकै सुम्पेको कहाँ हो र ?
हे ! सुरप्रताप,
सँगै भएर पनि किन सँगै छैनौ हामी यहाँ ?
यहाँ हाम्रो कपालभन्दा किन चाँडो चाँडो फुल्दै छ हाम्रो सोच ?
किन श्वास फुल्दै फुल्दै गइरहेछ मेरो यहाँ ?
हरदम… हरपल…
मातृभूमि सम्झेर
वर्षौंवर्षसम्म एकोहोरो बस्दा बस्दा
एकै ठाउँमा
निसासिइसकें म यहाँ
हे ! दुवानहरू हो
हे ! कसाईहरू हो
निकाल मलाई यो अँध्यारो खाल्डोबाट
बाँचुन्जेल कसैले नदेखेको/नभेटेको
यो स्वर्गबाट
जीवित हुँदाहुँदै देखिने/भेटिने
हरियै फक्रेका डाँडाकाँडा, पहाडपर्वत
र सेतै फुलेका हिमशैलहरूले सिँगारिएको
त्यो स्वर्गमा
मलाई फेरि फर्कनु छ
चम्किलो ज्योति बनेर ।
मलाई फेरि फर्कनु छ–
यो स्वर्गभन्दा कहाँ हो कहाँ सुन्दर
मेरो प्राणभन्दा कति हो कति प्यारो
मेरो देश नेपाल !
र, तहाँ पुगेर कहनु छ–
अहिलेसम्म कसैले नदेखेका
उज्यालाहरूलाई समेटेर
– अर्को आधुनिक दिव्योपदेश ।
पाद टिप्पणीः
देवीघाटः नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम देवीघाटमा वि.सं. १८३१ माघ १ गते पृथ्वीनारायण शाहको निधन भएको थियो । देवीघाटलाई मोहनतीर्थ समेत भनिन्छ ।
चन्द्रप्रभावती: राजा नरभूपाल शाहकी जेठी रानी । बाल्यकालमा पृथ्वीनारायण शाहको रेखदेख, लालनपालन र शिक्षादीक्षा यिनै जेठी महारानी चन्द्रप्रभावतीले गरेकी थिइन् ।
कौशल्यावती: गोरखाका राजा नरभूपाल शाहकी माहिली महारानी । उनैको कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
गुरु गोरखनाथः पृथ्वीनारायण शाहले सानै छँदा बाबा गोरखनाथको दर्शन गर्दा र बाबाले दही खुवाउँदा गोडामा पोखिएकाले गोरखनाथले “तिमीले टेकेको भुइँमा विजय हासिल गर्नेछौ” भनी दिएको आशीर्वाद वा वरदान पृथ्वीनारायण शाहको जीवनमा लागु भएको पाइन्छ ।
केवलपुरकी थपिनी आमाः धादिङ जिल्लाको केवलपुरकी थपिनी आमा । राजा पृथ्वीनारायण शाह भेषधारण गरी घुम्न गएको बखत यिनीसँग भेट हुँदा यिनले पृथ्वीनारायण शाहलाई युद्ध सम्बन्धी विभिन्न सल्लाह दिएको कुरा इतिहासमा उल्लेख छ ।
बिसे नगर्चीः बिसे नगर्ची गोरखा दरबारमा नगरा बजाउने काम गर्थे । पृथ्वीनारायण शाहले लडाइँ सुरु गर्नुअघिको मङ्गल धुन बजाउन, लडाइँका क्रममा योद्धाहरूमा वीररस थप्न, युद्धपछि विजयी या शोक धुन बजाउन वाद्यवादकका रूपमा बिसे नगर्चीहरू गोरखाली फौजसँगै जाने गर्थे । त्यस्तै बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई देश बनाउन चाहिने खर्च उठाउने अक्कल सिकाएका थिए । आफैँले एक रुपैयाँ दिएर राज्यको ढुकुटी बढाउने काम थालेका थिए ।
दलमर्दन शाहः पृथ्वीनारायण शाहका भाइ । पाटनका ६ प्रधानले यिनलाई पाटनको राजा घोषित गरेका थिए ।
तुर्की घोडाः आफ्ना मामासित नेपाल हान्ने अभियानमा पृथ्वीनारायण शाहले सल्लाह माग्दा पाल्पाका राजा उद्योत सेनले खसको सवार भनेको ताजी तुर्की घोडा हो लडाइँमा यसैको साथ लिँदा काम छिटो फत्ते हुन्छ भनी सल्लाह दिएका थिए ।
सुन्दरीचोकः वसन्तपुर दरबार स्क्वायर (हनुमानढोका दरबार स्क्वायर) मा सुन्दरी चोक, मूल चोक, नासल चोक, त्रिशुल चोक, मोहन काली चोक, वाचु चोक, मसान चोक लगायतका ९ वटा चोक छन् ।
इन्द्रकुमारीः मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी देवी नेपालका राजा पृथ्वीनारायण शाहकी जेठी रानी थिइन् । उनी पृथ्वीनारायण शाहको निधनपछि उनका अन्य रानीहरूसँगै वि.सं. १८३१ माघ १ गते देवीघाटमा सती गइन् ।
वंशराज पाँडेः काजी कालु पाँडेका जेठा छोरा । राजा पृथ्वीनारायण शाहकै पालामा भएको वि.सं. १८१९ को मकवानपुर विजय युद्ध, कप्तान किनलक नेतृत्वको अंग्रेज सेनासँगको सिन्धुलीगढीको युद्ध, कीर्तिपुर, भक्तपुर, तिमाल, पौवागढी, तनहुँ, लमजुङ, चिसापानी लगायत उपत्यका विजयका महत्वपूर्ण युद्धमा नेतृत्व गरी वीरता देखाएर पृथ्वीनारायण शाहको मन जितेका वंशराज पाँडे तत्कालीन गोर्खाका विश्वासिला र बहादुर भारदारमध्ये एक थिए ।
सुरप्रताप शाहः यिनी राजा नरभूपाल शाहका छोरा एवम् राजा पृथ्वीनारायण शाहका भाइ हुन् । उनले नेपालको एकीकरणकालमा निकै सहयोग पुर्याएका थिए । कीर्तिपुरको युद्धमा यिनको बायाँ आँखा फुटेको थियो । नरभूपाल शाहकी साँहिली महारानी बुद्धिमतिबाट यिनको जन्म भएको थियो ।
दुवान/कसाईः वि.सं. १८१४ मा कीर्तिपुरसँगको प्रथम युद्धमा पृथ्वीनारायण शाहलाई एक मल्ल सेनाले काट्न खुँडा उज्याइसकेका थिए, अर्को मल्ल सैनिकले राजा मार्न हुँदैन भनी रोके । राजालाई दुवान र कसाईले बोकेर रातारात नुवाकोट पुर्याई ज्यान बचाए । पुरस्कार स्वरूप दुवानहरूको जात उकासियो र उप्रान्त उनीहरू पुतवार भए ।
दिव्योपदेशः पृथ्वीनारायण शाह नुवाकोट गएका बेला आफ्नो अन्तिम समयमा भाइभारदारहरूलाई जम्मा गरी दिएको अर्ती एवं उपदेशहरूलाई हाल पृथ्वीनारायण शाहको दिव्य उपदेश भनेर चिनिन्छ ।
सुन्दरहरैंचामा कार्यरत पाँचखपनका सिजन श्रेष्ठ राष्ट्रव्यापी कविता प्रतियोगितामा तेस्रो