काठमाडौंः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको माघ ९ गते पूर्ण सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुषमालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते मुद्दालाई पूर्ण सुनुवाइका लागि पेशी तोक्न आदेश दिएको थियो । सर्वोच्चले गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठेको विवादमा उनीमाथि सरकारले गरेको कारबाही सम्बन्धी फाइल पनि पेश गर्न आदेश दिएको छ ।
पुस १२ गते गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले रिट दर्ता गरेका थिए । तर, पुस १३ गते सर्वोच्चले गभर्नर अधिकारीविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो । न्यायाधीश माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो ।