विराटचोकः फागुन १९ गते खुलेको शेयर बजार त्यसपछि आज खुलेको छ । फागुन २० देखि २२ सम्म चुनाव बिदा, २३ गते शनिबार, २४ गते नारी दिवसको बिदापछि आज बजार खुलेको हो । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशत बढेपछि सर्किट ब्रेक लगाएर २० मिनेटको लागि बजार रोकिएको छ ।
निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसक्न लागेको र रास्वपाले झण्डै दुई तिहाइ हाराहारी सिट ल्याउने सङ्केतका बीच बजार खुलेको हो । चुनावपछिको पहिलो कारोबारको दिन आज शेयर बजार खुलेको १ मिनेटमै ४ प्रतिशत अर्थात् १०८ दशमलव ६० अङ्क बढेको हो । बजार २८२१ दशमलव १० बिन्दुमा पुगेको छ ।
११ बजेर १ मिनेट जाँदा २० मिनेटका लागि कारोबार रोकिएको हो ।
२० मिनेटपछि खुलेको बजार थप १ प्रतिशत बढेमा ४० मिनेटका लागि कारोबार रोकिने नियम छ । त्यसपछि थप १ प्रतिशत अर्थात् जम्मा ६ प्रतिशतले बजार बढेमा आजका लागि शेयर कारोबार रोकिनेछ ।
आज प्रि ओपन सेसनमा शेयर बजार १ दशमलव ६४ प्रतिशत बढेको थियो ।







