विराटचोकः फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणामअनुसार संसदमा अब नेपाल मजदुर किसान पार्टी (मादल चुनाव चिह्न) र राष्ट्रिय जनमोर्चा (गिलास चुनाव चिह्न) को उपस्थिति नहुने भएको छ । रास्वपाको उर्लँदो लहरसँगै ती दुवै दलले आफ्नो गढ मानिएका भक्तपुर र बागलुङ जिल्लामा पराजय भोगेका छन् ।
पराजयसँगै ३४ वर्षपछि यी दुई वामपन्थी दलको अस्तित्व सङ्कटमा परेको हो । संसदमा निरन्तर स्थायी प्रतिपक्षको भूमिका खेलेका नेमकिपा र राजमोले यो निर्वाचनमा एक सिट पनि जित्न सकेनन् । २०४८ सालदेखि हरेक निर्वाचनमा भक्तपुरबाट नेमकिपा र बागलुङबाट राजमोका उम्मेद्वार निर्वाचित हुँदै आएका थिए ।
भक्तपुरबाट २०४८, २०५१, २०६४, २०७० सालमा अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए । २०७४, २०७९ सालमा सुवाल विजयी भएका थिए । २०६४ सालमा नेकपा माओवादीमा देखिएको लहर र २०७४ सालमा दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी मिल्दा समेत नेमकिपा पराजित भएको थिएन ।
भक्तपुरमा नेककिपाले कम्युनिस्ट मोडेलमा विकास गर्दै आएको थियो ।
सरकारको खबरदारी गर्दै आएको राजमोको पनि संसदीय यात्रामा पहिलो पटक ब्रेक लागेको हो । सो पार्टीले २०४८ सालदेखि लगातार संसद्मा उपस्थिति जनाउँदै आएको थियो ।







