बागलुङः राष्ट्रिय जनमोर्चाको गढ तथा सो पार्टीका अध्यक्ष चित्रबहादुर केसी विजयी हुँदै आएको बागलुङमा रास्वपाले जीत हासिल गरेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेद्वार विजयी भएका हुन् ।
बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत ल्याएका छन् । एमालेका हीराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत ल्याएका छन् ।
अन्य उम्मेद्वारले ६०० मत कटाएका छैनन् ।
गत निर्वाचनमा बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी २१ हजार ४६४ मत ल्याएर विजयी भएका थिए ।
बागलुङ क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेद्वार सोम शर्मा १२ हजार ६४७ मत ल्याएर विजयी भएका छन् । रास्वपाबाट सबैभन्दा कम मत ल्याएर विजयी हुने उम्मेद्वार शर्मा भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए ।
त्यस्तै, नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९ मत ल्याएका छन् । नेकपा एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत ल्याइन् ।
अन्य उम्मेद्वारले ६०० मत कटाउन सकेका छैनन् ।
क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार ज्ञामनाथ गैरेलाई जनमोर्चाले सहयोग गरेको थियो । त्यस्तै क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेद्वारलाई नेकपाले सहयोग गरेको थियो ।
क्षेत्र नम्बर २ मा गत निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका देवेन्द्र पौडेल २४ हजार ७९७ मत ल्याएर विजयी भएका थिए ।







