विराटचोकः शनिबार मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच विकसित पछिल्लो सैन्य आक्रमणप्रति नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहलगायतले मध्यपूर्वमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गर्दै सरकारसँग नेपाली नागरिकको सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो ।
नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा बसोबास तथा कार्यरत नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षा नियमहरूको पूर्ण पालना गर्न अनुरोध गर्दै अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न त्यहाँका नेपालीलाई अनुरोध गर्नुभएको छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशस्थित नेपाली दूतावासलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिई तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले युएई, इजरायल, इरानलगायत मध्यपूर्वी देशमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गर्दै नेपाल सरकार र सम्बन्धित दूतावासहरूलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन आग्रह गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहालले इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछिका घटनाक्रमले मध्यपूर्वमा गम्भीर तनाव सिर्जना गरेको उल्लेख गर्दै गहिरो चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षालाई प्रमुख प्राथमिकता बनाउन र आवश्यक कूटनीतिक पहलसहित प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले मध्यपूर्वी एशियाका विभिन्न देशमा रहेका नेपालीलाई घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र अनावश्यक यात्रा नगर्न अनुरोध गर्दै आधिकारिक सूचना लिन र दूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गर्नुभएको छ ।







