विराटचोकः नेपालले टी २० विश्वकपको दशौं संस्करणको छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेल आज खेल्दैछ । यसअघि सहभागी दुवै विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोलीले यसपटक भने सुपर ८ सम्म पुग्ने लक्ष्य लिएर तयारी गरिरहेको छ ।
नेपालको समूहमा यसअघि बंगलादेश रहेकोमा बंगलादेश हटेपछि स्कटल्यान्ड समावेश भएकाले नेपालका लागि केही सहज हुन सक्ने देखिन्छ । नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि अघिल्लोपटक विश्वकपमा खेलिसकेको हुँदा त्यसमा बटुलेको अनुभव र सिकेका कुरालाई प्रयोग गरेर यसपटक अघिल्लो चरणमा पुग्ने नेपालले लक्ष्य राखेको छ ।
यसपटक समूह चरण पार गरेर सुपर ८ मा पुग्न सफल भएमा आगामी विश्वकपका लागि स्वतः छनोट हुने प्रावधान रहेकाले सुपर ८ मा पुग्नुपर्ने बाध्यता भएको हो । सुपर ८ प्रवेश गर्ने टिमले सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने आगामी टी–२० विश्वकपमा सोझै स्थान बनाउनेछन् ।







