विराटचोकः नेपाली क्रिकेट टोलीले हिजोदेखि शुरु भएको दशौं संस्करणको टी २० विश्वकपमा आफ्नो पहिलो खेल आज खेल्दै छ ।
दुई पटकको विश्वविजेता टोली इंग्ल्यान्डसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् ।
नेपालसहित समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् । यसैगरी, समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई र क्यानडा रहेका छन् ।







