काठमाडौँ । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनलाई कुन अभियोगमा समातिएको हो भन्नेबारे विस्तृत जानकारी दिन बाँकी रहेको बताएका छन् ।
यसअघि माघ ५ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा पोखराबाट पक्राउ परेका प्रसाईं भोलिपल्टै अर्थात् माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । रिहा भएको केही दिनमै उनी पुनः प्रहरी फन्दामा परेका हुन् ।
पछिल्लो समय प्रसाईंले नेपाली कांग्रेसका नेता गगन थापा र निर्वाचन आयोगको बारेमा विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा मोटो रकम बुझाएर आधिकारिकता लिएको भनी उनले दिएको अभिव्यक्तिका विरुद्ध आयोगले प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । सोही प्रकरणलाई लिएर प्रसाईंलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।







