सलकपुरः देशकै पहिलो मुक्त रङ्गमञ्च दाबी गरिएको मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरमा रहेको शिल्पी नाट्य केन्द्र शनिबारदेखि सञ्चालनमा आएको छ ।
शनिबार नाटक ‘छुटेका सपना’ को मञ्चनसँगै सो नाट्य केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख केदारप्रसाद गुरागाईं र परिकल्पनाकार तथा नाट्य निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।
समाजमा विद्यमान राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रका विकृतिलाई व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरेको सो नाटकमा भ्रष्टाचार, ढिलासुस्ती, बेथिति तथा गरिबीका कारण किसानले भोग्नुपरेको दुःखलाई कलाकारहरूले जीवन्त रूपमा मञ्चमा उतारेका थिए ।
नाटकमा संगीता उराँव, सुशीला लोहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बीसी र उत्सव कार्कीलगायत कलाकारहरूले अभिनय गर्नुभएको थियो ।
उद्घाटन समारोहमा कुमार नगरकोटीले एउटा कविता प्रस्तुत गर्नुभएको थियो ।
निर्देशक घिमिरेले यो नाट्य केन्द्रलाई आफ्नो सपनाको सुरुवातका रूपमा लिएको बताउनुभयो । आफू जन्मेको ठाउँलाई नै राम्रो नाट्य गन्तव्य बनाउने लक्ष्यका साथ अघि बढेको उहाँको भनाइ थियो । सकारात्मक सन्देश दिने उद्देश्यसहित आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भनेर मुक्त रङ्गमञ्च निर्माण गरिएको उहाँले बताउनुभयो ।
शिल्पी नाट्य केन्द्रको अगुवाइमा निर्माण भएको सो नाट्य केन्द्रलाई अब भुल्के मुक्त रङ्गमञ्च थिएटरको रूपमा विकास गरेर कला र संस्कृतिको मन्दिरका रूपमा लगिने बताइएको छ ।







