बेलबारीः सर्जक प्रकाश भट्टराईले आफ्नो पहिलो कृति ‘गुनासो’ गीत सङ्ग्रह बजारमा ल्याउनुभएको छ ।
कोसी साहित्य, कला परिषद् नेपालको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ गङ्गा सुवेदी, कृतिमाथिका वक्ता प्रा. डा. भीम खतिवडा, कृष्ण उदासी, साहित्यकार हर्कमान तामाङ, कोसी साहित्य, कला परिषद्का अध्यक्ष केशु विरहीलगायतले कृतिको विमोचन गर्नुभएको हो ।
प्रमुख अतिथि प्राज्ञ सुवेदीले साहित्यको कोमल विधाका रूपमा चिनिने गीतलाई आफ्नो लेखन क्षेत्र बनाएकामा कृतिकार भट्टराईलाई बधाइ दिनुभएको थियो । चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष सुवेदीले गीतले सबैको मन छुन सक्ने विचार व्यक्त गर्नुभएको थियो ।
साहित्यकार हर्कमान तामाङले कृतिकारको गुरु हुने अवसर पाएकोमा गर्वबोध भएको बताउनुभएको थियो ।
कृतिका लेखक भट्टराईले निकै मिहिनेतका साथ पहिलो कृति ल्याउन सफल भएको बताउनुभयो ।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले आफूहरू नयाँ तथा केही फरक कार्यक्रम लिएर अघि बढिरहेको बताउँदै परिषद्ले पहिलो कृति प्रकाशन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
लोकार्पित कृतिमाथि प्रा.डा. भीम खतिवडा र कृष्ण उदासीले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा लोकार्पित कृतिभित्रबाट चण्डी साङपाङ, सुरेश साङपाङ, यमुना पराजुली र चिरञ्जीवी काफ्लेले एक एकओटा गीत गाउनुभएको थियो ।
संस्थाका उपाध्यक्ष विष्णु भण्डारी आचार्यको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, आम्लाबुङ साहित्य समाजका अध्यक्ष धनजीत पराजुली, रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेलगायतका साहित्यिक संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कोसी साहित्य, कला परिषद् नेपालले सो सङ्ग्रह प्रकाशन गरेको हो ।







