काठमाडौंः सेवाग्राहीसँग लिएको घुस रकम सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छविप्रसाद रिजाल छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट उनीहरुलाई पक्राउ गरेको हो । पुडासैनीबाट घुस लिएको रकम १ लाख ४६ हजार ४२० रुपैयाँ, रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ भएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट २३ थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
कुरियर कम्पनीमार्फत् विदेश पठाउने सामानमा घुस माग्ने गरेको सूचना आएपछि अख्तियारले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।







