विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा समी लामा नियुक्त हुनुभएको छ ।
अधिकारीले २०५३ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सेवा शुरु गरेर २०५७ सालमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्थायी नियुक्त हुनुभएको थियो ।
शैक्षिक र प्रशासनिक दुवै क्षेत्रमा खारिएका अधिकारी २०६३ सालमा रिडर (सह–प्राध्यापक) र २०६९ सालमा प्रोफेसर हुनुभएको थियो । भौतिक शास्त्रका विज्ञ अधिकारीले सन् २०१२ मा भारतको टीएम भागलपुर युनिभर्सिटीबाट फिजिक्समा विद्यावारिधी गर्नुभएको छ ।
भोजपुरमा जन्मिएका अधिकारी हाल विराटनगर–१ मा बस्नुहुन्छ । उहाँले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा लामो समय विभागीय प्रमुखका रूपमा काम गर्नुभयो भने ६ वर्षसम्म रिसर्च म्यानेजमेन्ट सेलको नेतृत्व गर्नुभएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको एकेडेमिक काउन्सिलमा ३ वर्ष र स्ट्यान्डिङ कमिटीमा पनि काम गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम बनाउने विषय समितिमा झन्डै १२ वर्ष काम गर्नुभएको छ ।
विश्वविद्यालयहरूको गुणस्तर मापन गर्ने क्युएए प्रक्रियामा कोअर्डिनेटरको रूपमा ६ वर्ष काम गर्नुभएका उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोग छनोट समितिमा ३ वर्ष सदस्यको रुपमा रहेर काम गर्नुभएको थियो । खुला विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिमा २ वर्ष र त्रिभुवन विश्वविद्यालयको फ्याकल्टी बोर्डमा ३ वर्ष उहाँले काम गर्नुभएको थियो ।







