सुन्दरहरैंचाः गीतकार डीपी खनालको स्वास्थ्य उपचार सहयोगार्थ नझरेका फूलहरूले आफ्नो ४१ औँ शृङ्खला अन्तर्गत ‘गीताञ्जली साँझ’ सम्पन्न गरेको छ ।
कार्यक्रममा गायिका पम्फा चाहारलाई ‘कदरपत्र’ प्रदान गरिएको थियो । गीताञ्जली साँझमा पम्फा चाहार, दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, मेरिना राई, अनु बुढाथोकी गिरी र निशा कार्कीले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमका सभापति पुरन राईले नझरेका फूलहरूमार्फत सानो भए पनि सहयोग पठाएर गीतकार डि.पी. खनालको स्वास्थ्य लाभको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
साहित्यकार पुरन राई र केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममार्फत सङ्कलित सहयोग रकमबाट खर्च कटाएर बाँकी रकम उपचाररत् खनालकै स्वास्थ्य उपचारका लागि पठाइने नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले बताए । कार्यक्रममा सङ्कलन भएको रकमको बारेमा भने खुलाइएको छैन ।
कार्यक्रममा गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, तुलसी पराजुली, राज सिग्देललगायतले पनि सो साँझमार्फत् सहयोग गरेको घिमिरेले बताए ।