बिर्तामोडः उच्च अदालत विराटनगर धनकुटा इजलासमा झापा जिल्ला अदालतबाट मंगलबार पहिलो पटक भर्चुअल बहस (श्रव्यदृश्य सुनुवाइ) भएको छ ।
धनकुटा इजलासका न्यायाधीश कृष्णलाल भट्टराई र मीना गौतम सेढाईको संयुक्त इजलासमा झापा बार महिला समिति अध्यक्ष एवं झापा बारकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले झापा जिल्ला अदालतको अनलाइन बहस कक्षबाट भर्चुअल बहस गर्नुभएको थियो ।
पक्ष र कानुन व्यवसायीहरु इजलासमक्ष प्रत्यक्ष भौतिक उपस्थिति बिना हुने श्रव्यदृश्य सुनुवाई (भर्चुअल बहस) कोभिड १९ महामारीको समयमा सर्वोच्च र उच्च अदालतहरुमा अभ्यासमा ल्याइएको थियो । विशेषगरी जिल्ला अदालतबाट उच्च अदालत टाढा हुँदा समय र खर्च पनि बढी लाग्ने हुँदा त्यस्ता जिल्लालाई प्राथमिकता दिँदै अनलाइन बहसको सुरुवात गरिएको थियो ।
भर्चुअल सुनुवाईमा अदालतले युजर आइडी र पासवर्ड सम्बन्धित बार वा कानुन व्यावसायीको इमेल मार्फत् जानकारी गराउनेछ ।
प्रचलित कानुनबमोजिम जारी गरिने पक्राउ पूर्जी, जरुरी पक्राउ पूर्जीको स्वीकृति, हिरासतमा वा निगरानी कक्षमा राख्ने आदेश, थुनछेकसम्बन्धी कार्य, बयान, बकपत्र र बहस पैरवी नेपालभरमा जहाँबाट पनि उच्च अदालतहरुमा श्रव्यदृश्य (भर्चुअल ) मार्फत् बहस गर्न सकिने व्यवस्था छ ।
भर्चुअल सुनुवाइ भइरहेको समयमा पालना गर्नुपर्ने केही नियम छन् । कानुन व्यवसायी तोकिएको पोशाकमा इजलासको मर्यादा कायम हुने गरी सहभागी हुनुपर्ने, बहसको समयमा प्रत्यक्ष इजलासमा जस्तै अनुशासन र मर्यादा कायम राख्नुपर्छ । बन्द इजलासबाट सुरु हुने मुद्दामा सम्बन्धित कानुन व्यवसायी र मुद्दाको पक्ष स्वयंबाहेक अरूलाई प्रवेश अनुमति दिनुहुँदैन । मुद्दाको सुनुवाइमा सान्दर्भिक कुराबाहेक अरू केही गर्न पाइँदैन । मुद्दाको पालो आउने समयको व्यवस्था गरी कानुन व्यवसायी यथासमयमा भिडियो स्क्रिनमा उपस्थित हुनुपर्छ । इजालसको गतिविधि अन्यत्र सेयर गर्न नपाइने र इजलास बसिरहेको बेलामा तस्बिर खिची सामाजिक सञ्जालमा राख्न नपाइने नियम छ । इजलासमा भएको गतिविधि रेकर्ड गर्न, प्रचार–प्रसार गर्न पाइँदैन, बहस गर्दा तोकिएको स्थानमा उभिएर प्रत्यक्ष इजलासमा जस्तै बहस गर्ने रीतसँगै गर्नुपर्ने जस्ता नियमको पालना गर्नुपर्छ ।







