विराटचोकः भारत असुरक्षित रहेको भन्दै २ हजार ७ सय वर्षदेखि भारतमा बसोबास गर्दै गएका ५ हजार ८ सय यहुदी परिवार पुर्ख्यौली थलो इजरायलमा बसाइँ सर्ने भएका छन् ।
आफूहरूको जीउज्यानको रक्षा गर्न हारगुहार गरेपछि इजरायल सरकारले उनीहरूलाई ‘पुर्खाको जन्मस्थलमा’ बसाइँसराइँ गर्न अनुमति दिएको हो । त्यसको लागि इजरायल सरकारले ५२ करोड ८० लाख सेकेल (इजरायली मुद्रा) अर्थात झण्डै दुई करोड ८८ लाख डलर खर्च गर्ने भएको छ । उनीहरू इजरायल फर्केपछि त्यो विश्वकै सबैभन्दा वृहत ‘पुनर्मिलन’ हुने दावी गरिएको छ ।
यहुदी धर्मावलम्बी भित्रको बेने मेनाशे समुदाय भारतको उत्तरपूर्वी राज्यहरू मणिपुर र मिजोरममा इसापूर्व ५ सय शताब्दीभन्दा अघिदेखि नै बसोबास गर्दै आएको पाइन्छ । बेनी मेनाशे जनजातिको विश्वास छ कि २ हजार ७ सय वर्ष पहिले जब नव–असीरियन साम्राज्यले उत्तरी इजरायलमाथि विजय प्राप्त गर्यो, उनीहरूलाई त्यहाँबाट निष्कासित गरिएपछि सुरक्षित बसोबास स्थल खोज्दै भारत आएका थिए । उनीहरूले आफ्ना पूर्वज इजरायलबाट आएको दाबी गर्छन्, उनीहरूको संस्कार र संस्कृति पनि इजरायलका यहुदीहरूसँग मेल खान्छ ।
मिजोरम र मणिपुरका आदिवासी समुदाय नै भए पनि आफूहरू यहुदी भएकै कारण समस्यामा पर्ने गरेको दाबी उनीहरूले गर्दै आएका थिए ।
मणिपुर र मिजोरममा चल्दै आएको जातीय हिंसाको मुख्य शिकार नै आफूहरू हुँदै आएको यहुदी समुदायका अगुवाहरूको भनाइ छ । त्यस्तै यहुदी भएकै कारण आफूहरूलाई सरकारी जागिरमासमेत भेदभाव गर्ने गरिएको गुनासो पनि उनीहरूले गर्दै आइरहेका छन् ।
वर्षाैदेखि त्यस्तो गुनासो गर्दै आएपछि इजरायल सरकारले उनीहरूलाई घर फर्काउनको लागि सहमति दिएको हो । त्यसको लागि उत्तरी इजरायलको गालील क्षेत्रमा बसोबास गराउने गरी सरकारले तयारी गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन् २०२६ देखि २०३० को अवधिमा ती सबैलाई इजरायलमा स्थानन्तरण गरिने घोषणा गरेका छन् ।
उनीहरूलाई तत्कालै इजरायलको नागरिकता दिइने र रोजगारीको सुनिश्चितता पनि गरिने इजरायली प्रधानमन्त्रीले बताएका छन् ।







