पर्वतः जिल्लाको बिहादी गाउँपालिकाले गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही रु १० हजार प्रदान गरिएको छ ।
पालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको हो । यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सकिने भएकले उनीहरूलाई अनुदान दिइएको विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले बताउनुभयो ।
अनुदान पाउने किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् । पालिकाको वडा नं १ बाच्छाका ७ जना, वडा नंं २ बर्राचौरका १३ जना, वडा नंं ३ रानीपानीका ६ जना, वडा नंं ४ वहादीका १ जना, वडा नंं ५ उरामपोखराका १२ जना र वडा नंं ६ शालिग्रामका ७ जना किसानलाई अनुदान रकम प्रदान गरिएको हो ।
यसअघि विहादी गाउँपालिकाले प्रजननका लागि राँगा पाल्ने कृषकलाई रु १० हजार अनुदान, स्थानीय जातका गाई पाल्ने कृषकलाई सुत्केरी भत्ता तथा प्रोत्साहन रकम प्रदान गरेको थियो ।
पालिकाले व्यावसायिक दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्ने कृषकलाई प्रतिगाई वा भैँसी रु २० हजारका दरले अनुदान पनि दिएको जनाएको छ ।







