पोखराः स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । पालिकाले जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाका अनुसार पालिकाभित्र जनसङ्ख्या घट्दै गएकाले यस्तो नीति लिइएको हो ।
आर्थिक सहायता प्रदान गर्ने कार्यविधि २०८२ स्वीकृत गरेर कार्यविधिमा तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई आर्थिक सहायता गर्ने तयारी गरेको हो । गाउँपालिकाले स्वीकृत गरेको कार्यविधिअनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्दै आएका परिवारबाट चालु आर्थिक वर्षको साउनभन्दा पछाडि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तीन सन्तान जन्माउने परिवारले कार्यविधिमा तोकिएबमोजिमको ढाँचामा निवेदन, नागरिकताको प्रतिलिपि, तीनवटै सन्तानको जन्मदर्ताको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि, बसाइँ सरी आएकाको हकमा बसाइँसराइँको प्रतिलिपि आवश्यक पर्ने जनाएको छ । जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्ने उल्लेख छ ।








