लेटाङः माघ १ गते लेटाङ नगरपालिकामा आयोजित तेस्रो संस्करणको लेटाङ रन–२०८२ मा स्वदेशी तथा विदेशी खेलाडीको उत्साहपूर्ण सहभागिता रह्यो । प्रतियोगितामा नेपाल, भारतका साथै केन्यासम्मका धावक सहभागी थिए ।
खेलकुदमार्फत स्वास्थ्य सचेतना, जगाउँदै सामाजिक एकता र लागूऔषध दुव्र्यसनविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।
प्रतियोगिता अन्तर्गत खुला पुरुषतर्फको १० किलोमिटर दौडमा अफ्रिकी मुलुक केन्याका धावक जुलियस मुरियुकी वाहोमेले ३० मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । दोस्रो स्थान काठमाडौंका नागेश्वर अहिरले ३१ मिनेट २ सेकेण्डमा प्राप्त गरे भने दमकका हरि रिमाल तेस्रो भए । यस्तै चौथो स्थान लेटाङ–३ का बिक्रम लिम्बूले र पाँचौँ स्थान इलामका राजेन्द्र लिम्बूले हासिल गरे ।
खुला महिलातर्फ नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरीले ३७ मिनेट ३२ सेकेण्डमा दौड पूरा गर्दै प्रथम भइन् । दमककी पुष्पा लिम्बू दोस्रो र खोटाङकी दीपा बस्नेत तेस्रो स्थानमा रहँदा उर्लाबारीकी मन्दिरा महतरा चौथो र धरानकी निक्की नेम्बाङ पाँचौँ भइन् ।
यस विधामा पुरुष र महिला दुवैतर्फ प्रथम हुने खेलाडीले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले ८ हजार तथा चौथो र पाँचौले जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, लेटाङ नगरपालिकामा बसोबास गर्ने खेलाडीहरूका लागि छुट्टै आयोजना गरिएको हाम्रो लेटाङ विधातर्फ पुरुषमा लेटाङ–३ का विनोद राई र महिलातर्फ लेटाङ–९ की स्मृति राई प्रथम भएका छन् ।
विनोद राईले ३६ मिनेट २० सेकेण्डमा दूरी पूरा गरी प्रथम स्थान हासिल गर्दा प्रवीण बराइली दोश्रो, अमिरहाङ राई तेश्रो, आशिष विश्वकर्मा चौथो र विभाग साह पाँचौ भएका छन् ।
महिलातर्फ स्मृति राई ५१ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै प्रथम हुँदा सुहाना राई दोस्रो, पूजा राई तेस्रो, नुमा लिम्बू चौथो र शीतल लिम्बू पाँचौँ भएका छन् ।
यस विधामा प्रथमले ७ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार तथा चौथो र पाँचौले जनही १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
भेट्रानतर्फको दौडमा पुरुषतर्फ इटहरीका रेशम लिम्बू र महिलातर्फ धरानकी जमुना लिम्बू प्रथम भएका छन् । रेशम लिम्बूले ३७ मिनेट ३७.४७ सेकेण्डमा दौड पूरा गर्दा धरानका विजय कुमार राई दोस्रो र इलामका अभिननारायण अधिकारी तेस्रो भए ।
महिलातर्फ जमुना लिम्बूले ५० मिनेट १.६१ सेकेण्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन् भने धरानकी कुसुम लिम्बू दोस्रो र कौशल्या तामाङ तेस्रो भइन् । भेट्रान विधामा प्रथमले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै कक्षा ८ मुनिको ३ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ धरानका रोहनकुमार माझी र छात्रातर्फ वराहक्षेत्रकी करुणा खोङ प्रथम भएका छन् । रोहनकुमार माझीले ९ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दा साहिल देवान दोस्रो र डम्बर पौडेल तेस्रो भए ।
छात्रातर्फ करुणा खोङले १२ मिनेट २ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन् । यस विधामा प्रथमले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । मन्त्री महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राज्यमन्त्री उमाकान्त गौतम, नेपाल सरकारका पूर्व खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बू, पूर्वसांसद घनश्याम खतिवडा, संविधानसभा सदस्य उषा गुरुङ, लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्व नगर प्रमुख शंकर राईलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भारतको दार्जीलिङबाट आएका पूर्व लागूऔषध प्रयोगकर्ता तथा धावक प्रमुस भुटियाले लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक सन्देशयुक्त भनाइ राख्नुभएको थियो ।
तेस्रो संस्करणको रूपमा सम्पन्न लेटाङ रनमा ७ सय ५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा केन्याका अन्तर्राष्ट्रिय खेलाडीसहित नेपालका विभिन्न जिल्लाहरू—मोरङ, सुनसरी, झापा, इलाम, भोजपुर, धनकुटा, खोटाङ, पोखरा र काठमाडौंलगायत क्षेत्रबाट खेलाडीहरू सहभागी भएका थिए ।
प्रतियोगितामा आसामान्य शारीरिक अवस्था भएका, एउटा हात नभएका, कान नसुन्ने जस्ता शारिरिक अपाङ्गता भएका धावकहरूले समेत सहभागीता जनाएका थिए ।
लेटाङ रनमा चार वटा विधामा महिला र पुरुष गरी ८ समूहमा खेलडीहरूले प्रतिस्पर्धा गरेका थिए । खुला रनको महिला पुरुष, हाम्रो लेटाङको महिला र पुरुष, भेट्रानको महिला र पुरुष तथा कक्षा ८ मुनिको छात्र र छात्रा गरी ८ समूहमा खेलाडीहरूले रनमा सहभागिता जनाएका थिए ।
कक्षा ८ मुनिको प्रतिस्पर्धामा सहभागी हुने खेलाडीहरूले ३ किलोमिटर दौड पूरा गरेका थिए । बाँकी विधाका पुरुष र महिला तर्फका खेलाडीहरूले १० किलोमिटर दौड पूरा गरेका थिए ।
लेटाङ रन सफल बनाउन लेटाङ–३ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका सन्तोष राईले २ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । लेटाङ नगरपालिकाले समेत आवश्यक बजेट व्यवस्थापन गरेको थियो । साथै प्रतियोगितालाई सफल पार्न देश–विदेशबाट व्यक्तिगत तथा संस्थागत सहयोग प्राप्त भएको आयोजक लेटाङ रनका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।







