विराटचोकः नेपाली कथानक चलचित्र ‘सिक्कुम’ को विराटचोकस्थित विराट सिनेमा भएको च्यारिटी शोमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
लिम्बू संस्कृतिमा आधारित चलचित्रको च्यारिटी सो हेर्न सुन्दरहरैंचाको सुविजीमुर स्मृति मावि, सिद्धार्थ सेकेण्डरी स्कुल, स्कलर्स होम एकेडेमी, जनता मावि बुधबारेलगायतका विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक उपस्थित भएका थिए । विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतले चलचित्रका नायक राज श्रेष्ठसँगै बसेर चलचित्र हेरेका थिए ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको च्यारिटी शोमा दर्शकले चलचित्रका नायक श्रेष्ठसँग तस्बिर र सेल्फी खिच्ने तथा भलाकुसारी गर्ने मौका पाएका थिए ।
अधिकांश दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । सुन्दरहरैंचा–१० निवासी विमला लिम्बूले चलचित्रमा सबै पक्ष राम्रो भए पनि अन्त्यमा चलचित्रको नायकले लिम्बू भाषा बोलेको दृश्य राख्न छुटेको प्रतिक्रिया दिनुभयो ।
अन्तरजातीय विवाह सफल भएको तथा लिम्बूकन्यालाई क्षत्री समुदायले लिम्बू संस्कृतिअनुसार रीत पुर्याएर माग्न जानु चलचित्रको सबल पक्ष रहेको चलचित्र हेरेपछि दर्शकले प्रतिक्रिया दिएका थिए ।
राज श्रेष्ठ र पवित्रा लिम्बूको मुख्य अभिनय रहेको चलचित्रमा सबिना लिम्बू, राज लिम्बू, मीनकुमार राई, मीनाकुमारी लिम्बूलगायतको अभिनय रहेको छ । मीनकुमार राईले खलनायकको भूमिका निर्वाह गरेका छन् ।
इलाम, मोरङ, धनकुटाका लिम्बूबहुल स्थानमा छायाङ्कन गरिएको चलचित्र लिम्बू संस्कृतिमा आधारित रहेको छ ।









