विराटचोकः मंसिर १९ गतेदेखि २२ गतेसम्म भएको प्याब्सन स्पोर्टस् मिट २०८३ मा सुन्दरहरैंचाको सिद्धार्थ सेकेण्डरी स्कुल पहिलो भएको छ । जुनियरतर्फ अर्थात् कक्षा १० सम्मको प्रतियोगितामा पहिलो भएको विद्यालयले सिनियरतर्फको पदकसहित प्रतियोगितामै पहिलो स्थान ल्याएको हो ।
सिद्धार्थ जुनियरतर्फ ७ स्वर्ण पदकसहित तथा समग्र प्रतियोगितामा ८ स्वर्ण पदकसहित पहिलो भएको हो । सिद्धार्थलाई छात्रातर्फ ४×४०० मिटर रिले दौडमा स्वर्ण पदक प्राप्त भएको छ । छात्रातर्फ २ सय मिटर दौडमा दुर्गा भगतले र ८ सय मिटर दौडमा महिमा लिम्बूले स्वर्ण पदक पाइन् ।
छात्रतर्फ ४×४०० मिटर रिले दौडमा पनि सिद्धार्थले स्वर्ण जितेको छ । २ सय मिटर दौडमा अबु हन्जलाले स्वर्ण पदक पाए । ४ सय मिटर दौडमा अविनाश लावती र २ किलोमिटर दौडमा दिप्सन राईले स्वर्ण पदक जिते ।
विद्यालयले ३ रजत पदक पाएको छ । छात्र ८ सय मिटर दौडमा दिप्सन राईले, छात्रा २ किलोमिटर दौडमा रिया तामाङले र छात्रा ४×१०० मिटर रिले दौडमा एउटा रजत पदक प्राप्त भएको हो ।
त्यस्तै, सिनियर अर्थात् १०+२ तर्फ छात्रा २ किलोमिटर दौडमा सुनेमी राईले स्वर्ण पदक पाइन् ।
सिनियरतर्फ नै छात्र बास्केटबल र छात्रा टेबलटेनिस टिमले कास्य पदक जिते ।
सिद्धार्थले जुनियरतर्फ ७ स्वर्ण र ३ रजत तथा सिनियरतर्फ १ स्वर्ण र २ कास्य पदक हात पार्दै मोरङ जिल्ला प्रथम हुन सफल भएको हो ।
सिनियरतर्फ भने विराटनगरको एभरेस्ट स्कुल ५ स्वर्ण, २ रजत र १ कास्य पदकसहित प्रथम भएको छ ।
प्रतियोगितामा ३ हजार खेलाडीले सहभागिता जनाएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले जनाएको छ ।







