Monday, December 8, 2025
Homeअपराधलेटाङकी अंशु गौतमको हत्या छिमेकीबाटै, जबर्जस्ती करणीमा छोरा जेलबाट छुटेपछि जबर्जस्ती करणी...

लेटाङकी अंशु गौतमको हत्या छिमेकीबाटै, जबर्जस्ती करणीमा छोरा जेलबाट छुटेपछि जबर्जस्ती करणी र हत्यामा बाबु पक्राउ

विराटनगरः मोरङको लेटाङ नगरपालिका–२, फँडानीकी १२ वर्षीया बालिका अंशु गौतमको रहस्यमय मृत्युको घटनाको २ महिना लामो अनुसन्धानपछि प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्नलाई सार्वजनिक गरेको छ ।

५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारी सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । अधिकारीलाई मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान शुरु गरेको छ ।

असोज २१ गते घरबाटै हराएकी बालिकाको शव १८ दिनपछि (कात्तिक ७ गते) घरभन्दा करिब ४ किलोमिटर टाढा चारकोशे झाडीको बीचमा कंकालको रूपमा फेला परेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कोशी प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । प्रहरीले यस अनुसन्धान अभियानलाई ‘अपरेसन जेएजी’ अर्थात अपरेशन जग नामकरण गरेको थियो ।

घटनास्थलको सूक्ष्म विश्लेषण, ३०० जनाभन्दा बढी व्यक्तिहरूको प्रोफाइलिन (शंकास्पदहरूको सूचीकरण), प्राविधिक विश्लेषण र फरेन्सिक जाँचपछि मात्र अभियुक्त पत्ता लागेको प्रहरीले जनाएको छ । अभियुक्त पहिचान गर्न केही व्यक्तिलाई पोलिग्राफ परीक्षणसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना भएको दिन (असोज २१ गते) अंशु आफ्नी एक साथीसँग खेलिरहेकी थिइन् । अभियुक्त पदमबहादुर अधिकारीले ती साथीलाई ५ रुपैयाँ दिएर दिदीलाई खोजेर ल्याउन अह्राएका थिए । अंशुकी साथी गएपछि, ‘घाँस काट्न सहयोग गर’ भनेर जङ्गलको मुखमा भेट्न बोलाएका थिए । अंशु र पदम छुट्टाछुट्टै बाटोबाट जङ्गलको मुखसम्म पुगेका थिए । त्यहाँबाट पदमले अंशुलाई साइकलको पछाडि राखेर जङ्गल लगेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले बालिकालाई घरबाट करिब साढे ४ किलोमिटर भित्र घना जङ्गलमा लगेर जबरजस्ती करणी गरेको र पोल खुल्ने डरले घाँटी थिचेर तथा घाँस काट्न भनी लगेको खुर्पाले घाँटी काटेर हत्या गरेका थिए ।

घटनापछि आफूमाथि शङ्का नहोस् भनेर उनी केही दिन गाउँमै सामान्य रूपमा बसेका थिए । अंशुको खोजीमा उनी पनि खटिएका थिए । तर, प्रहरीले अनुसन्धानको घेरा साँघुरो बनाउँदै लगेपछि र अंशुको शव फेला परेको १२ दिनपछि कात्तिक १९ गते उनी भारतको मेघालय गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त अधिकारीमाथि अधिकतम सजायको मागदाबी गर्दै सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको छ । अंशु घरनजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् ।

प्रहरीका अनुसार अभियुक्तका छोरा जबर्जस्ती करणी मुद्दाको सजाय भुक्तान गरी कात्तिक १८ गते घर आएका थिए । छोरा घर आएपछि अब घर तँ सम्हाल् म कमाउन भारत जान्छु भनेर छोरालाई मात्रै जानकारी दिएर उनी भारत गएका थिए । परिवारका अरु सदस्यलाई जानकारी नदिई घर छोडेर हिँडेपछि प्रहरीले उनी घटनामा संलग्न हुन सक्ने आशंका गरी अनुसन्धान उनीतिर केन्द्रित गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments