लेटाङः दशैंमा लगाइएको पिङ खेल्न जाँदा कोजाग्रत पूर्णिमाको भोलिपल्ट असोज २१ गते हराएर १८ औँ दिनका दिन भाइटीकाको भोलिपल्ट कात्तिक ७ गते मृत अवस्थामा भेटिएकी मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्याको अनुसन्धानको क्रममा ५० वर्षीय छिमेकी पक्राउ परेका छन् ।
लेटाङ नगरपालिका–२ स्कुलचोककी गौतमको शव क्षत विक्षत अवस्थामा फेला परेको थियो । घटनाको २ महिना हुनै लाग्दा प्रहरीले लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई पक्राउ गरेको औपचारिक जानकारी भने दिएको छैन । अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको र केही विषय खुल्न बाँकी रहेकाले पक्राउ परेका व्यक्तिको बारेमा प्रहरीले केही नखुलाएको बताइएको छ ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत खटिएको थियो ।
एक दाजु र एक दिदीकी कान्छी बहिनी उनी घरनजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत् थिइन् ।
घटनाबारे जानकारी दिन प्रहरीले आज बिहान साढे १० बजे विराटनगरमा पत्रकार सम्मेलन गर्ने भएको छ ।







