काठमाडौंः पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएलमा) शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ । चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।
प्ले अफ होडबाट पोखरा र चितवन दुवै बाहिरिइसकेका छन् । आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ । दुवैको समान २ अंक छ ।
पोखराका लागि ओपनर रोसिङटनले ४८ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै अर्जुन कुमालले अविजित ४३ रन योगदान गरे । उनले ५३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस सिजन एनपीएलमा पहिलो खेल खेलेका कुमालले रोसिङटनसँग ओपनिङ गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डे–नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो ।







