काठमाडौंः जारी सिजनमा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।
सुदूर पश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।
ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।
सुदूरपश्चिम र विराटनगर दुवैले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिमले शीर्ष स्थान नै सुरक्षित गर्दै पहिलो क्वालिफायर खेल्ने भइसकेको छ । अब यो खेलको नतिजापछि सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोलीको पनि टुङ्गो लाग्नेछ । सुदूरले दिएको लक्ष्य १३ ओभर मात्रै पूरा गरेमा विराटनगरले काठमान्डु गोर्खाजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र सुदूरसँग पहिलो क्वालिफायर खेल्नेछ ।







