Tuesday, January 20, 2026
Homeप्रविधिलेटाङको मोरङ पाथीभरामा विज्ञान प्रदर्शनी तथा रोबोटिक्स प्रतियोगिता सम्पन्न

लेटाङको मोरङ पाथीभरामा विज्ञान प्रदर्शनी तथा रोबोटिक्स प्रतियोगिता सम्पन्न

लेटाङः लेटाङ–२ स्थित मोरङ पाथिभरा इङ्लिस स्कुलमा २ दिने विज्ञान प्रदर्शनी तथा रोबोटिक्स प्रतियोगिता सम्पन्न भएको छ । सो विज्ञान प्रदर्शनीमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञानका विभिन्न नियमहरुमा आधारित भएर निर्माण गरेका उपकरणको नमूना प्रदर्शन गरिएको थियो ।

‘कोशी आविष्कार मेला १.०’ नाम दिएर विद्यार्थीले वाटर प्युरिफिकेसन, हाइड्रोलिक व्रिज, हाइड्रोलिक पार्किङ, वाटर साइकल, पोजेक्टर, स्मार्ट सीट लगायतका प्रविधि प्रदर्शनी गरेका थिए ।

कार्यक्रममा रोबोटिक्स प्रतियोगिता मुख्य आकर्षणको रूपमा रहेको थियो । जसअन्तर्गत छिटोछरितो रूपमा नयाँ प्रविधि बनाउने रोबोटिक्स हाकाथन र रोवो सकर लिगमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

रोवोटिक्स हाकाथनअन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीका ४ वटा समूह सहभागी भए । उनीहरुले होम अटोमेसन, आटोमेटिक इरिगेसन, ग्यास लिकेज डिटेक्सन र वेदर मोनिटरिङ प्रविधि प्रस्तुत गरेका थिए । जसमा खाना पकाउने ग्यास चुहावट हुँदा सूचना दिने प्रविधि ग्यास लिकेट डिटेक्सन प्रविधि बनाउने विद्यार्थीहरू उत्कृष्ट भई राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनोट भएका छन् ।

रोबोटिक्स प्रतियोगिता अन्तर्गत नै रोबो सकर लिगमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका विभिन्न ६ वटा समूहबीच भएको रोवो सकर लिगमा रोबोटलाई फुटबल खेलाएर प्रतिस्पर्धा गराइएको थियो ।

सो प्रतिस्पर्धामा टीगर कम्बो टीम प्रथम र एमपीइएस गर्ल्स टीम दोस्रो भएका छन् । दुवै टोली काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।

नेपालका विभिन्न ठाउँका विभिन्न विद्यालयमा क्रमागत रूपमा रोबोटिक्स प्रतियोगिता सञ्चालन भइरहेकाले उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गर्ने टोलीले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने विद्यालयमा रोबोटिक्स प्रशिक्षण गराउने संस्था उत्थान ल्याव रोबोटिक्सका प्रमुख कार्यकारी अधिकृत विनम श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयको रोबोटिक्स क्लबका सदस्य सुदीप ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ– २ का वडासदस्य नीलम ज्यू ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लेटाङका अध्यक्ष भोलानाथ पाण्डे, सचिव खगेन्द्रबहादुर कार्की, मोरङ पाथिभरा इंग्लिस स्कुलका अध्यक्ष मनोज विष्ट, प्रिन्सिपल खगेन्द्रराज भण्डारी, लेटाङ नगरपालिकाका आन्तरिक लेखा परीक्षक सरोज सुवेदी, शिक्षा शाखाका कर्मचारी अनिल मिश्र तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

रोबोटिक प्रतियोगितामा राष्ट्रिय स्तरमा उत्कृष्ट हुने टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न इन्डोनेसिया जाने मौका पाउने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments