लेटाङः मोरङको लेटाङ नगरपालिका वडा नम्वर ४ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । बालमैत्री वडा घोषणा गर्नुपूर्व हालै जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई नेतृत्वको टोलीले वडाको स्थलगत अनुगमन गरी समन्वय बैठक सम्पन्न भएको छ । बैठकले मंसिर २४ गते एक कार्यक्रम गरी नगरको पहिलो वडा घोषणा गरिने भएको हो ।
लेटाङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठका अनुसार लेटाङ नगरपालिकाले घोषणापूर्वका सबै आवश्यक सूचक पूरा गरिसकेको दाबी गर्दै अनुगमनका लागि जिल्ला समन्वय समितिलाई जानकारी गराएको थियो । अनुगमनका क्रममा आवश्यक सूचकहरुको मापदण्ड पुगेको देखिएकाले बालमैत्री वडा घोषणा गरिने जिल्ला समन्वय समिति मोरङका अधिकृत गिरिराज भट्टराईले जानकारी दिनुभयो ।
वडा नम्बर ४ ले बालमैत्री वडाका लागि आवश्यक पर्ने सबै ५१ सूचक पूरा गरिसकेकाले लेटाङ नगरको पहिलो बालमैत्री वडा घोषणा गर्न लागिएको नगरप्रमुख भुपेन्द्रकुमार लावतीले बताउनुभयो ।
घोषणापूर्व हालै जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, लेटाङका नगरप्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ तथा नगरपालिका र जिससका कर्मचारी सहितको सहभागितामा अनुगमन गरी समन्वय बैठक सम्पन्न भएको हो ।







