विराटचोकः प्रथम आन्तर्राष्ट्रिय आमन्त्रण एनि गछिया गोल्डकप–२०८२ अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै गाईघाट युनाइटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
गाईघाटले सलहेश युवा क्लब सिराहालाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गछिया खेल मैदानमा भएको खेलको दोस्रो हाफको ३१ औँ मिनेटमा गाईघाटका सुनिल खड्काले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ‘म्यान अफ द म्याच’ विजयी टिम गाईघाट युनाइटेडका जर्सी नम्बर ८ का विनोद राई घोषित भए । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष गणेश चौधरीले राईलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत शनिबार दोस्रो सेमीफाइनल खेल आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति फुटबल क्लब इटहरीबीच दिउँसो २ बजे हुनेछ । राष्ट्रिय जागृतिले दमक फुटबल क्लबलाई र आयोजकले लिजेण्ड फुटबल क्लब पश्चिम बंगाल भारतलाई पराजित गरी सेमीफाइनलमा पुगेका हुन् ।
जारी प्रतियोगितामा हालसम्मको ठूलो गोल अन्तर ० का विरुद्ध ७ गोल गरी आयोजक सेमीफाइनलमा पुगेको हुनाले शनिबारको खेल रोमाञ्चक बन्ने अनुमान गरिएको छ ।
मंसिर २२ गते सम्पन्न हुने प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछ । उपविजेताले नगद १ लाख १ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछ ।







