सुन्दरहरैंचाः सुकुना बहुमुखी क्याम्पसमा भर्ना हुन आएका नयाँ विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । क्याम्पस परिवार र स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त रुपमा स्वागत कार्यक्रमको आयोजना गरेका हुन् ।
सांस्कृतिक कार्यक्रमको साथमा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले विद्यार्थीमा रहेका सिप‚ ज्ञान र क्षमतालाई क्याम्पसले प्रोत्साहन गर्ने बताए । सुकुनालाई पूर्वकै शैक्षिक केन्द्र बनाउने गरी योजना तर्जुमा गरिएको अधिकारीले बताए ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले अध्ययन‚ अध्यापन‚ अतिरिक्त क्रियाकलाप‚ खोज अनुसन्धान‚ व्यक्तित्व विकास र शैक्षिक नतिजाका क्षेत्रमा क्याम्पसलाई गुणस्तरीय थलो बनाउने कार्यमा विद्यार्थीहरूको साथ सहयोगको अपेक्षा गरिएको जनाए ।
अनेरास्ववियुका योगेश दाहाल, अखिल क्रान्तिकारीका सतीष कार्की, नेविसंघका विजय ओझा र अनेरास्ववियूका रोहन खत्रीले विद्यार्थी एकतामा जोड दिएका थिए ।
कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलले समाजमा देखिएका विकृतिका विरुद्धमा १ घण्टासम्म व्यङ्ग्यात्मक प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य प्रस्तुत गरेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा स्ववियु उपाध्यक्ष भोजराज रिजालले स्वागत मन्तव्य राखेका थिए । पहिलो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सचिव एलिस ओझाले र दोस्रो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सदस्य ज्ञानु घिमिरेले गरेकी थिइन् ।
कार्यक्रममा शिक्षक‚ कर्मचारी‚ विद्यार्थी‚ विद्यार्थीका संघ सङ्गठनका नेता‚ स्ववियुका पूर्व सभापति एवम् पदाधिकारी, पूर्व विद्यार्थी‚ अभिभावकको उपस्थिति रहेको थियो ।