काठमाडौंः नेपाल प्रिमियम लिगको पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स जारी दोस्रो सिजनमा अङ्कविहीन छ । हालसम्म खेलेका तीनै खेलमा उसले जीत निकालेको छैन ।
ब्याटिङमा सुमित वर्माको अर्धशतक अनि बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जीत हात पारेको छ । साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै पोखराले अङ्कको खाता खोलेको हो ।
१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जीतसम्म पु¥याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । अन्तिम ओभरको दोस्रो बलमा सिंगल लिएर अर्धशतक पूरा गरेपछि उनी रिटायर्ड आउट भएका थिए ।
सञ्जय कृष्णमूर्तिले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए भने माज साजाकातले २० रन जोडे ।
पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सुमित वर्माले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान कुशल भुर्तेल र जिमी निशमले एकएक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा यो सिजनमा टस जितेर ब्याटिङ गर्ने पहिलो टिम समेत हो ।







