विराटनगरः नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ ।
विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका सञ्चालक पारस लुनियाले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको न्युट्रल भेन्युका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
क्रिकेटको विकासका लागि निजी क्षेत्रसहित सबै पक्षको लगानी र सहकार्य आवश्यक रहेको लुनियाको भनाइ थियो ।
विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले आगामी प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताउनुभयो । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सलाई उपाधि दिलाउने लक्ष्यका साथ तयारी अघि बढाइएको उहाँको भनाइ थियो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने भएको छ ।





