बेलबारीः फागुन २१ गते हुने निर्वाचनमा हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् ।
बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार्टीले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी छ । ‘
बस्नेत मोरङका लागि परिचित अनुहार हुन् र उनको लगानी तथा व्यावसायिक संलग्नताले स्थानीय स्तरमा चर्चा हुने गरेको छ । मोरङ क्षेत्र नम्बर ३ मा गत चुनावमा कांग्रेसका सुनिल शर्माले जितेका थिए । कांग्रेसबाट उनै उम्मेदवार हुने चर्चा छ । एमालेले भने नयाँ उम्मेदवार खोज्ने नेताहरू बताउँछन् । गत चुनावमा एमालेका भानुभक्त ढकाल उम्मेदवार बनेका थिए ।
गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष प्रसाईँका अनुसार कुनै दलसँग गठबन्धन नगरी पार्टी चुनावी मैदानमा जाने भएको हो । सो पार्टीले ‘समृद्धि, समता र स्वाभिमान’लाई आफ्नो मूल उद्देश्य बनाएको छ ।







