सलकपुरः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
मोरङको सुन्दरहरैंचा–९ स्थित सलकपुर पार्टी प्यालेसमा भएको अधिवेशनले जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनले द्वितीय उपाध्यक्षमा टीकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन लुइँटेल, सह–सचिवमा सीता चापागाई, कोषाध्यक्षमा लक्ष्मी कार्की र सह–कोषाध्यक्षमा शान्तादेवी भण्डारीलाइ सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा गोविन्द खड्का, शोभा जोशी, विनोद अधिकारी, सानु राई, हीरादेवी लुइँटेल, नरेन्द्रकुमार थापा, शर्मिला सिग्देल, भुमादेवी अधिकारी र हेमकुमारी न्यौपाने निर्वाचित हुनुभएको छ । २५ सदस्यीय जिल्ला समितिको रिक्त पद भूगोल तथा समावेशीताका आधारमा पछि पदपूर्ति गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।
प्रतिष्ठानका कार्यवाहक जिल्ला अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रीय सदस्य गायक रमेश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गायक कृष्णभक्त राई एवम् गायिका डेनी इम्साङलगायत प्रतिष्ठानका प्रदेश पदाधिकारीहरुको विशेष आतिथ्यता थियो । अधिवेशनमा प्रतिष्ठान कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सरोज आचार्य, सचिव सुशील भट्टराई, प्रदेश महिला सचिव शकुन्तला कार्की, प्रदेश सदस्यहरु गंगा गौतम, भोलामान गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति झापाका अध्यक्ष टंक ढकाल, झापा सचिव अम्बिका फुयाल, स्रष्टा समाज बेलबारीका अध्यक्ष जेबी थुलुङ, बेलबारी साहित्य बिकास समितिका अध्यक्ष रमेश निरौला, ’नझरेका फुलहरु’ का प्रस्तोता केपी घिमिरे, गायक सञ्जीव धिमाल, राष्ट्रिय पुस्तकालय केराबारीका सचिव नवीन थापा क्षेत्री लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दुर्गा पाञ्चायन नौमती बाजा समूहको टोलीले नौमती बाजाद्वारा अतिथिहरूलाई स्वागत गरेको थियो । कार्यक्रममा कृष्णभक्त राईले बिनायो कङकङ र गायिका डेनी इम्साङले डाली घाँसैमा लगायतका गीत गाएर माहोल तताएका थिए भने अन्य कलाकारहरुले पनि गीत प्रस्तुत गरेका थिए । अधिवेशन कार्यक्रममा प्रत्यक्ष दोहोरीसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन मिलन लुइँटेलले गरेका थिए भने जिल्ला सदस्य तारा शाक्यले स्वागत मन्तव्य राखेकी थिइन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य रमेश आचार्यले शपथ ग्रहण गराएका थिए ।







