विराटचोकः गत असोज १८ गते परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब पौने ४ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । बाढीले पुर्याएको क्षतिबापत हालसम्म ३ अर्ब ७८ करोड ४० लाखको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो वर्षा र बाढीका कारण ३७ वटा जिल्लाबाट बीमा दाबी परेको छ । सबैभन्दा धेरै बीमा दाबी सुनसरीबाट १ सय ९७ वटा बीमा दाबी परेको छ । मोरङबाट ९०, काठमाडौंबाट ८०, पर्साबाट ७१, इलामबाट ६० वटा बीमा दाबी परेको छ ।
१३ वटा निर्जीवन बीमा र २ वटा लघु निर्जीवन बीमा गरी १५ वटा कम्पनीमा ७ सय ३४ वटा बीमा आवेदनबाट सो रकम बराबरको दाबी परेको हो । बीमा दाबीको आधारमा सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्समा परेको छ । शिखर इन्स्योरेन्समा ६१ करोड रुपैयाँमा बीमा दाबी परेको छ । युनाइटेड अजोड इन्स्योरेन्समा ६० करोड ५६ लाख रुपैयाँको बीमा दाबी परेको छ । सिद्धार्थ प्रिमिर र एनएलजी इन्स्योरेन्समा ५० करोड रुपैयाँ बराबरको दाबी परेको छ । नेशनल, हिमालयन एभरेष्टमा ३० देखि ४० करोडको बीचमा दाबी परेको छ । दी ओरियन्टल, आइजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी, नेको नेपाल र प्रभु इन्स्योरेन्समा १० करोडदेखि २० करोड रुपैयाँसम्मको दाबी परेको छ । सानिमा जिआईसीमा २ करोड ८५ लाखको दाबी पर्दा ट्रष्ट माइक्रो र स्टार माइक्रो इन्स्योरेन्समा भने ८ लाख रुपैयाँको दाबी परेको छ ।
सबैभन्दा धेरै सम्पत्ति बीमामा ३८२ वटा छन् । कृषि तथा बाली बीमामा २०९ वटा, इन्जिनियरिङ तथा ठेकेदार बीमामा ९२, निजी मोटर बीमामा ३७, सरकारी मोटर बीमामा १०, सामुद्रिक बीमामा ३ र अन्यमा एक गरी ७ सय ३४ वटा दाबी परेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।







