काठमाडौंः विद्युत विकास विभागले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने भएको छ । आयोजनाको डिपिआर र इआईए प्रतिवेदन तयार गरी स्वीकृतिको लागि उर्जा मन्त्रालयमा पेश गरिएको हो ।
विभागका अनुसार आयोजनामा एशियाली विकास बैंकको नेतृत्वमा विश्व बैंक सहितका दातृ निकायले लगानी गर्दैछन् । आयोजनाको लागत ३ खर्बभन्दा बढी रहेको छ । दातृ निकायले १ अर्ब डलर लगानी गर्ने सहमति जनाएका छन् । आधाभन्दा बढी एडीबीले लगानी गर्नेछ । आयोजनाबाट ३ हजार बढी घरधुरी प्रभावित हुनेछन् ।
खोटाङ जिल्लाको रावावेशी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, ओखलढुंगा जिल्लाको चिसङ्खुगढी गाउँपालिका र सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका तथा नेचासल्यान गाउँपालिका भएर बग्ने दूधकोशी नदीको पानी उपयोग गर्ने गरी नदीको दुवै किनारमा आयोजनाका संरचनाहरू बनाइने भएको छ ।
एउटै जलाशयमा आधारित २ वटा विद्युतगृह रहने गरी ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना तयार हुने छ । नेपाल विद्युत प्राधिकरणले तयार गरेको आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तथा वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको छ ।
दुईवटा विद्युत गृहमध्ये आयोजनाका मुख्य संरचनाहरू ६०० मेगावाटको विद्युतगृहका लागि दुधकोशी नदीको बायाँ तथा ७० मेगावाटको विद्युत गृहका लागि दुधकोशी नदीको दायाँ किनारामा पर्नेछन् ।
विभागका अनुसार दूधकोशी नदीमा बाँध बाँधी आयोजनाको ६०० मेगावाटका लागि नदीको बायाँपट्टि निर्माण हुने इनटेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरू हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै भूमिगत विद्युत गृहमा लगिनेछ र तत्पश्चात टेलरेस टनेल मार्फत पानीलाई वैकुखोलामा खसाली सुनकोशी नदीमा पठाइनेछ ।
७० मेगावाटका लागि नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरू हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै भूमिगत विद्युत गृहमा लगिनेछ र तत्पश्चात टेलरेस टनेल मार्फत पानीलाई पुनः दूधकोशी नदीमा पठाइनेछ ।
विद्युत उत्पादनका लागि खोलाको पानी फर्काउन ६३० मि. लम्बाई तथा २२० मिटर अग्लो रकफिल बाँधको निर्माण गरिनेछ । बाँधको निर्माणबाट करिब ३१.५ कि.मि लामो र करिब १९.७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशयको निर्माण हुनेछ । उक्त जलाशयमा १५८.१ करोड घन मिटर पानी सञ्चय हुनेछ ।
विद्युतगृहमा ४ वटा १५० मे.वा. क्षमताका भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइन प्रयोग गरिनेछन् । विद्युत उत्पादनपछि ३९९.४ मिटर लम्बाइ भएको टेलरेस टनेलबाट पानीलाई वैकुखोला हुँदै दूधकोशी र सुनकोशी नदीको दोभानभन्दा तलपट्टि सुनकोशी नदीमा पठाइनेछ ।
उत्पादित विद्युत ऊर्जालाई ४०० के.भी. डबल सर्किट विद्युत प्रशारण लाइनबाट ढल्केबर सबस्टेसनमा जोडिने छ । धितुङस्थित मुख्य विद्युतगृहसँगैको सबस्टेसनदेखि ढल्केबर सबस्टेसन सम्मको लम्बाइ ८२ किलोमिटर हुनेछ ।
आयोजनाबाट २०९० साल असारदेखि विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।







