जनकपुरः पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक रात्रिबसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य दुई जना बालबालिका गम्भीर घाइते भएका छन् ।
हिजो साँझ विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।
दुर्घटनामा १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।







