विराटचोकः बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी खोल्नुभएको छ । बस्नेतले दुई वर्षको तयारीपछि पार्टी खोलेको बताउनुभएको छ ।
हिजो बिहीबार निर्वाचन आयोगले सो पार्टी दर्ता गरी चुनाव चिह्न ‘दीपज्योति’ प्रदान गरेको छ ।
पार्टीको अध्यक्षमा डा. दिनेश प्रसाईं र महासचिव पीयुष कायस्थ हुनुहुन्छ । बस्नेत सदस्य मात्रै हुनुहुन्छ ।
पार्टी अध्यक्ष डा. प्रसाईं समाजशास्त्री हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालयमामा एमफिल र पिएचडीलाई पढाउनुहुन्छ । उहाँ १५ वर्षदेखि पर्यटन व्यवसायमा पनि संलग्न हुनुहुन्छ । महासचिव कायस्थ भने कृषि विज्ञ हुनुहुन्छ ।
सो पार्टीले पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्ने व्यवस्था गरेको बताइएको छ । पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोह्र वर्षसम्म बहाल रहेपछि पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने व्यवस्था गरिएको छ ।
पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने बताइएको छ । सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाइने प्रावधान राखिएको बताइएको छ ।







