विराटचोकः नेपाल राष्ट्र बैंकले डेबिट कार्ड (एटीएम)बाट झिक्न सकिने रकमको सीमा घटाएर एक दिनमा ५० हजार रुपैयाँमात्रै निकाल्न मिल्ने बनाएको छ ।
केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो सीमा घटाएको हो । संशोधित निर्देशिकाबमोजिम अब जुनसुकै बैंकको एटीएम कार्ड (डेबिट कार्ड)बाट प्रतिदिन ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँसम्म निकाल्न मिल्ने जनाइएको छ ।
राष्ट्र बैंकका अनुसार अब प्रति कारोबार जम्मा २० हजार मात्रै निकाल्न मिल्नेछ । यसअघिको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरुको एटीएम कार्डबाट प्रतिकारोबार २५ हजार रुपैयाँ अर्थात् प्रतिदिन १ लाख रुपैयाँ तथा प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था थियो ।







