विराटचोकः सोमबार भएको वेस्ट इन्डिजविरूद्धको टी–२० क्रिकेटको दोस्रो खेलमा नेपालले शानदार जीत निकालेको छ । आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग नेपाल ९० रनले विजयी बनेको हो । शारजाहमा भएको खेलमा नेपालले लगातार दोस्रो पटक जीत निकालेसँगै सिरिज नै जितेको हो ।
नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गर्दा सो लक्ष्यलाई पछ्याउने क्रममा रहेको वेस्ट इन्डिजले १७ दशमलव १ ओभरमा १० वटै विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सकेको हो ।
खेलमा नेपालका लागि बलिङ गर्दा आदिल अन्सारी र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरेका थिए । आदिल अन्सारीले चार विकेट, कुशल भुर्तेलले तीन, दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले एक र ललित राजवंशीले एक विकेट लिएका छन् । भुर्तेल र गुल्शन झाले उत्कृष्ट क्याच गरेका थिए ।
नेपालका लागि आशिफ शेख र सन्दिप जोराले उत्कृष्ट ब्याटिङ गरेका थिए । शेखले ६८ रन र जोराले ६३ रन बनाएका हुन् । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्न सकेनन् । भुर्तेलले दुई रन र पौडेलले तीन रन बनाए ।
कुशल मल्लले पनि सात रन, गुल्शन झाले ६ रन र मोहम्मद आदिल आलमले ११ रन बनाए । ६ विकेटको क्षतिमा नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जुन लक्ष्यलाई वेस्ट इन्डिजले पछ्याउन सकेन ।
शनिबार भएको खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको थियो । वेस्ट इन्डिजविरूद्धको अन्तिम खेल आज शारजाहमा हुनेछ ।







