विराटचोकः नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माणडा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले दशैं मनाउँछन् ।
आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । कुष्माण्डादेवीले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले कुष्माण्डादेवी नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कुष्माण्डा शुभदास्तुमे ।।
कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि संसारिक दुःखकष्ट तथा पीडामा शितलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुपमानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ ।
शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलीसमेत चढाउने गरिन्छ ।
दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।







