काभ्रेः बीपी राजमार्गमा यस वर्षको मनसुन शुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । असोज १ गतेदेखि सो राजमार्गमा २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।
बाढीपहिरोको जोखिमका कारण सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म रातको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोक्ने गरिन्थ्यो ।
गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो ।
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीका रूपमा रहेको सो राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।







