विराटचोकः पूर्व प्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ । जेनजी आन्दोलनका कारण वर्तमान सरकारले सत्ता छोड्नुपरेपछि कार्की अन्तरिम सरकारको मन्त्री हुनुभएको हो ।
कार्कीको परिचयः
बलियो कानूनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताले गर्दा धेरै युवाहरुको रोजाइमा पर्नुभएकी कार्कीले प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नुभएको हुनाले धेरैले उहाँलाई निर्भिक न्यायमूर्तिका रूपमा चिन्ने गर्छन् ।
२०७३ साल असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म सुशीला कार्की नेपालको सर्वाेच्च अदालतको पहिलो महिला प्रधानन्यायधीश हुनुभएको थियो । उहाँको जन्म २००९ जेठ २५ गते मोरङको विराटनगरको शङ्करपुरमा भएको हो । सात सन्तानमध्ये ज्येष्ठ छोरीका रूपमा जन्मिएकी कार्कीको परिवार कृषक पृष्ठभूमिको थियो । बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध रहेका सुशीलका पति दुर्गा सुवेदी प्रजातान्त्रिक सेनानी हुनुहुन्छ ।
कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभयो । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि लिनुभयो । उहाँले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गर्नुभएको थियो ।
२०३५ सालमा वकालत शुरु गर्नुभएकी उहाँले विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । २०६१ मा वरिष्ठ अधिवक्ता बन्नुभएकी कार्की २०६५ सलमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश र २०६७ मा स्थायी न्यायाधीश तथा २०७३ सालमा प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो ।
उहाँले आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्नुभएको थियो ।
उहाँको कार्यकाल निर्विवाद भने रहेन । प्रधानन्यायाधीश बनेको १० महिनापछि तत्कालीन सत्तारुढ दल माओवादी र कांग्रेसले कार्कीले क्षेत्राधिकार नाघेर फैसला गरेको भन्दै महाअभियोग दर्ता गरेका थिए । तर, त्यो सफल भएन । महाअभियोगविरुद्ध अदालतमा रिट परेपछि तत्कालीन न्यायाधीश चोलेन्द्र शम्शेरले त्यसलाई रोक्न अन्तरिम आदेश दिनुभएको थियो ।







